नेपाली गजलपरम्परामा संयुक्त गजलसङ्ग्रह, गजल विशेषाङ्क तथा गजलप्रधान पत्रपत्रिका सङ्क्षिप्त रेखाङ्कन
नेपाली गजलपरम्परामा संयुक्त गजलसङ्ग्रह,
गजल विशेषाङ्क तथा गजलप्रधान पत्रपत्रिका सङ्क्षिप्त रेखाङ्कन
-घनेन्द्र ओझा
नेपाली गजललेखन परम्परामा सङ्ग्रह प्रकाशनको श्रीगणेश संयुक्त गजलसङ्ग्रहबाटै भएको हो । वि. सं. १९६९ मा गोपीनाथ लोहनी र दुर्गादेव पाण्डेको सम्पादनमा प्रकाशन भएको सङ्गीत चन्द्रोदय’बाट नेपाली भाषामा गजलसङ्ग्रह प्रकाशनको शुभारम्भ भएको मानिन्छ । सङ्गीत चन्द्रोदयपछि एकल गजलसङ्ग्रह प्रकाशनको लहर चल्यो ।
त्यसबेलाका प्रसिद्ध साहित्यकारहरू भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर आदिले एकल गजलसङ्ग्रह प्रकाशन गरे । वि. सं. १९९४ मा भीमनिधि तिवारीले मेरी बयासी गजल’ प्रकाशन गरेका देखिन्छ भने यसको दुई वर्षपछि अर्थात् वि. सं. १९९६ मा उपेन्द्रबहादुर जिगरले एक सय एक गजल’ प्रकाशन गरेको पाइन्छ । त्यस समय भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरबीच सङ्ग्रह प्रकाशनमा होडबाजी भएको पुष्टि तिवारीले वि. सं. २००२ मा बयासी र बीस गजल मेरी’ प्रकाशन गर्नुले गर्दछ । जिगरको एक सय एक गजल’लाई उछिन्न बयासी गजलमा बीसओटा थपेर जिगरको भन्दा एउटा बढी बनाउने लोभ तिवारीमा देखिन्छ ।
जे भए पनि यी सबै गजलसङ्ग्रहहरू नेपाली गजलको प्राथमिककालमा प्राप्त महत्त्वपूर्ण उपलब्धि हुन् । यिनै गजलसङ्ग्रह र गजलकारले देखाएको बाटोमा अहिलेसम्म नेपाली गजलकारहरू हिडिरहेका छन् ।
नेपाली गजलपरम्परामा देखिएका केही महत्त्वपूर्ण संयुक्त गजलसङ्ग्रह तथा गजलविशेषाङ्कहरू यहा उल्लेख गरिएको छ । यीमध्ये प्राप्त संयुक्त गजलसङ्ग्रहको मात्र छोटो चर्चा गरिएको छ । (more...)

