नेपाली गजलपरम्परामा संयुक्त गजलसङ्ग्रह, गजल विशेषाङ्क तथा गजलप्रधान पत्रपत्रिका सङ्क्षिप्त रेखाङ्कन
नेपाली गजलपरम्परामा संयुक्त गजलसङ्ग्रह,
गजल विशेषाङ्क तथा गजलप्रधान पत्रपत्रिका सङ्क्षिप्त रेखाङ्कन
-घनेन्द्र ओझा
नेपाली गजललेखन परम्परामा सङ्ग्रह प्रकाशनको श्रीगणेश संयुक्त गजलसङ्ग्रहबाटै भएको हो । वि. सं. १९६९ मा गोपीनाथ लोहनी र दुर्गादेव पाण्डेको सम्पादनमा प्रकाशन भएको सङ्गीत चन्द्रोदय’बाट नेपाली भाषामा गजलसङ्ग्रह प्रकाशनको शुभारम्भ भएको मानिन्छ । सङ्गीत चन्द्रोदयपछि एकल गजलसङ्ग्रह प्रकाशनको लहर चल्यो ।
त्यसबेलाका प्रसिद्ध साहित्यकारहरू भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर आदिले एकल गजलसङ्ग्रह प्रकाशन गरे । वि. सं. १९९४ मा भीमनिधि तिवारीले मेरी बयासी गजल’ प्रकाशन गरेका देखिन्छ भने यसको दुई वर्षपछि अर्थात् वि. सं. १९९६ मा उपेन्द्रबहादुर जिगरले एक सय एक गजल’ प्रकाशन गरेको पाइन्छ । त्यस समय भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरबीच सङ्ग्रह प्रकाशनमा होडबाजी भएको पुष्टि तिवारीले वि. सं. २००२ मा बयासी र बीस गजल मेरी’ प्रकाशन गर्नुले गर्दछ । जिगरको एक सय एक गजल’लाई उछिन्न बयासी गजलमा बीसओटा थपेर जिगरको भन्दा एउटा बढी बनाउने लोभ तिवारीमा देखिन्छ ।
जे भए पनि यी सबै गजलसङ्ग्रहहरू नेपाली गजलको प्राथमिककालमा प्राप्त महत्त्वपूर्ण उपलब्धि हुन् । यिनै गजलसङ्ग्रह र गजलकारले देखाएको बाटोमा अहिलेसम्म नेपाली गजलकारहरू हिडिरहेका छन् ।
नेपाली गजलपरम्परामा देखिएका केही महत्त्वपूर्ण संयुक्त गजलसङ्ग्रह तथा गजलविशेषाङ्कहरू यहा उल्लेख गरिएको छ । यीमध्ये प्राप्त संयुक्त गजलसङ्ग्रहको मात्र छोटो चर्चा गरिएको छ ।
पुस्तकको नाम प्रकाशन मिति सम्पादक
-वि. सं. मा)
१) सङ्गीत चन्द्रोदय १९६९ गोपीनाथ लोहनी र दुर्गादेव पाण्डे
२) समकालीन नेपाली गजल २०४७ ललिजन रावल
३) समसामयिक नेपाली गजल २०५० दुवसु क्षेत्री
४) प्रतिनिधि नेपाली गजल २०५७ वियोगी बुढाथोकी र कृसु क्षेत्री
५) धौलागिरि स्पन्दन २०५९ इन्द्रकुमार विकल्प
६) नवलपरासीका समसामयिक गजल २०६० श्यामप्रसाद न्यौपाने
७) गजलपथका यात्रीहरू २०६१ बालकृष्ण थपलिया
८) गजलबिम्ब २०६२ पुष्प अधिकारी अञ्जली’
९) चुलाचुली गजलदर्पण २०६२ विवश बलिभद्र कोइराला
१०) गजलदीप २०६३ पुष्प अधिकारी अञ्जली’
११) बहरमाला २०६३ घनेन्द्र ओझा र सुरेश सुवेदी
१२) नेपाली गजलमा नारी हस्ताक्षर २०६३ रमेश शुभेच्छु
१३) गजलयात्रा भाग १ २०६४ पुष्प अधिकारी अञ्जली’
१४) गजलपराग २०६४ एकादेशको गगनराज
१५) गजल उत्सव २०६४ दीपक समीप
१६) प्रतिनिधि नेपाली गजल …………. ध्रुव मधिकर्मी
१७) ई समकालीन गजल २०६४ आर. के. अदीप्त गिरि
१८) गण्डकी साहित्य पीयूष २०६३ गणेश शर्मा पौडेल
१९) गजलमाला २०६६ घनेन्द्र ओझा र घनश्याम पथिक’
२०) गोधूलि २ ………. अनुराग अधिकारी
२१) काठमाडौ गजलसङ्ग्रह ………… गोपीकृष्ण ढुङ्गाना पथिक र गंगाप्रसाद भेटवाल
गजलप्रधान पत्रिका तथा गजल विशेषाङ्क
२१) मूच्र्छना २०५६ अमर त्यागी र नवराज रिजाल
२२) नेपाली गजल २०५६? गोवर्द्धन पूजा
२३) पलास सुरेश वाग्ले
२४) बागिश्वर
२५) झिल्लिका २०६२ डिकेश लामा
२६) आरोहण २०४६
२७) विजया २०४७
२८) बसुन्धरा २०४९
२९) सन्देश २०५२
३०) प्रतिभा २०५३
३१) झर्ना २०५३
३२) नवप्रज्ञापन २०५३ नवराज रिजाल
३३) आकाश २०५३ गोवर्द्धन पूजा
३४) पूणिर्मा २०५७
३५) गुञ्जन २०५८
३६) स्वर्ण गजुर २०६०
३७) शिवपुरी सन्देश वियोगी बुढाथोकी
३८) कल्पतरु नवराज पुडासैनी ज्योत्सना’
३९) शब्दाङ्कुर धीरकुमार श्रेष्ठ
४०) प्रज्ञापन २०६०
४१) गजल ………. इन्द्रकुमार श्रेष्ठ सरित’
४२) गजलसागर …………. गोरखसागर खत्री र अन्य
४३) नेपाली गजल ………… धीरज गिरी कल्पित’
गजलप्रधान पत्रिका
४४) गजलबाटिका पुष्पराज आचार्य पीडित’
४५) प्यास दीपसागर पन्त प्यासी’
४६) भरिया पूर्ण समीर महतारा
सङ्गीत चन्द्रोदय
नेपाली गजललेखनको सुरुआतकर्ता युवाकवि मोतीराम भट्टको सर्जकमण्डली मोतीमण्डली’का सदस्यहरूका गजलसिर्जनाहरू समेटिएको कृति हो- सङ्गीत चन्द्रोदय । वि. सं. १९६९ मा प्रकाशित यस सङ्ग्रहको सम्पादन गोपीनाथ लोहनी र दुर्गादेव पाण्डेले गरेका हुन् ।
मोतीराम भट्ट, गोपीनाथ लोहनी नाथ’, लक्ष्मीदत्त पन्त इन्दू’, अम्जद हुसैन अन्जान’, नरदेव पाण्डे सूधा’, रत्नलाल रत्न’, गजब’लगायतका त्यसबेलाका मोतीमण्डलीका स्रष्टाहरूका गजल समेटिएको यस सङ्ग्रहलाई नेपाली भाषामा लेखिएका गजलहरूको पहिलो सङ्ग्रह मानिन्छ ।
नेपाली साहित्यको माध्यमिक काल शृङ्गारिक भावधारामा बढी केन्दि्रत भएको पाइन्छ । यसरी हेर्दा यस समयमा लेखिएका गजलमा पनि शृङ्गारिकताकै प्रमुखता छ भन्न सकिन्छ ।
सङ्गीत चन्द्रोदयमा गजल मात्र नभई ठुमरी, मल्लार आदि पनि रहेका छन् । गजल’ भनेर समेटिएका सबै सिर्जना गजल बन्न सकेका छैनन् । कतिपयमा रदिफको मात्र प्रयोग छ, काफिया छैन । मोतीरामकै पनि सबै सिर्जना गजल बन्न सकेका छैनन् । अन्य सर्जका गजलमा पनि संरचनागत दोष पर्याप्त पाइनुले सङ्गीत चन्द्रोदयमा सङ्कलित गजलकारहरूमा पर्याप्त गजलसम्बन्धी ज्ञान नभएको र मोतीरामको प्रेरणाले लहैलहैमा गजल सिर्जना गरेका प्रष्ट हुन्छ ।
समकालीन नेपाली गजल
वि. सं. २०४७ सालमा बगर प्रकाशनले प्रकाशन गरेको ललिजन रावलद्वारा सम्पादित संयुक्त गजलसङ्ग्रह हो- समकालीन नेपाली गजल । नेपाली गजलसाहित्यको इतिहासमा सङ्गीत चन्द्रोदय -वि. सं. १९६९) पछि प्रकाशित प्रथम संयुक्त गजलकृतिको रूपमा यसलाई लिइन्छ । नेपाली गजलको पुनर्जागरण भर्खरै भएको र अत्यन्तै सीमित सर्जकले मात्र गजल लेखिरहेको समयमा यस्तो महत्त्वपूर्ण कृति प्रकाशित हुनु नेपाली गजलको इतिहासमा अत्यन्तै महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ । यस कृति प्रकाशनको पहल गर्ने सम्पादक ललिजन रावललगायत सम्पूर्ण सरोकारवालाहरू धन्यवादका पात्र छन् ।
दिव्य गिरी, धर्मोगत शर्मा तुफान’, ध्रुवचन्द्र गौतम, ध्रुव मधिकर्मी, पुष्कर माथेमा, पुष्पहरि क्याम्पा राई, पूर्ण रञ्जितकार, बूद राना, मनु ब्राजाकी, मुन पौडेल, युवराज नयाघरे, रत्न प्रजापति, रवि प्राञ्जल, ललिजन रावल, विजय वजिमय, विप्लव ढकाल, वियोगी बुढाथोकी, सानुराजा अन्जान’ र ज्ञानुवाकर पौडेल गरी जम्मा १९ जना गजलकारका गजल यस कृतिमा सङ्गृहीत छन् ।
समकालीन नेपाली गजलमा सङ्गृहीत गजलमा प्रेमप्रणयभावका अतिरिक्त समसामयिक राजनीतिक, सामाजिक पक्षको आलोचना पनि विषयवस्तु बनेर आएका छन् । अधिकांश गजल संरचनाका हिसाबले सफल देखिए पनि लयको उचित निर्वाह भने धेरै गजलमा भएको पाइदैन । खाली भाव र संरचनालाई मात्र ध्यान दिइएका गजल धेरै छन् यसमा ।
यस सङ्ग्रहमा नेपाली गजलका हस्तीहरू मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, ललिजन रावल, बूद राना, रवि प्राञ्जलका साथै नेपाली साहित्यका अन्य विधामा स्थापित सर्जका गजलसमेत समावेश छन् । नेपाली आख्यानको क्षेत्रमा स्थापित स्रष्टाहरू ध्रसवचन्द्र गौतम, युवराज नयाघरे आदिका गजल यसमा समावेश छन् । यसै गरी नेपाली कविता र समालोचनाको क्षेत्रमा स्थापित स्रष्टा विप्लव ढकालका गजल पनि यस कृतिमा समेटिएको पाइन्छ । पुष्पहरि क्याम्पा राई टेलिभिजन पत्रकारितामा सक्रिय छन् भने पुष्कर माथेमाले पनि उति गजल लेखेका देखिदैन । उल्लिखित स्रष्टाहरूले यसपछि गजललेखनमा उति रुचि देखाएका नपाइनुले नेपाली गजलको इतिहासमा नाम जोड्नको लागि मात्र यस पुस्तकमा समावेश भएको अनुमान गर्न सकिन्छ । तर यीबाहेक अन्य स्रष्टाले गजललेखनलाई निरन्तरता दिइरहेका पाइन्छ । पुनर्जागरणपछिका एक सशक्त गजलकार धर्मोगत शर्मा तुफान’ले चाहि दुइओटा गजलकृति प्रकाशनपछि गजललेखनमा त्यति देखिएका पाइदैन ।
यस कृतिमा कृतिका सम्पादक ललिजन रावलको गजल संरचना र नेपाली गजल’ शीर्षकमा ११ पेज लामो सम्पादकीय रहेको छ । गजलको बारेमा भर्खर भर्खर बहस हुन थालेको त्यस समयमा गजलको सैद्धान्तिक ज्ञानका साथै तात्कालीन नेपाली गजललेखनको विश्लेषणसमेत समेटिएको उक्त लेखले कृतिको ओज र वजन दुवै बढाएको छ ।
समग्रमा, समकालीन नेपाली गजलको प्रकाशन नेपाली गजलको इतिहासमा अत्यन्तै चुनौतिपूर्ण काम र ज्यादै महत्त्वपूर्ण प्राप्ति हो ।
समसामयिक नेपाली गजल
बसुन्धरा प्रकाशनद्वारा प्रकाशित तथा दुबसु क्षेत्रीद्वारा सम्पादित संयुक्त गजलसङ्ग्रह हो- समसामयिक नेपाली गजल, २०५० । ५१ जना समकालीन गजलकारका तीनदेखि पााच सेरसम्मका सिर्जना समावेश गरिएको छ यस पुस्तकमा । नेपाली साहित्यमा स्थापित भइसकेका र स्थापित हुदै गरेका स्रष्टाहरू डा. ध्रुवचन्द्र गौतम, अशेष मल्ल, धर्मोगत शर्मा तुफान’, ललिजन रावल, बूद राना, मनु ब्राजाकी, रवि प्राञ्जललगायतका गजलसिर्जना यस कृतिमा सङ्कलन गरिएको छ भने युवराज नयाघरे, मुन पौडेल, रत्न प्रजापति, रमेश पौडेल, रमेश क्षितिज, सानुराजा श्रेष्ठ अञ्जान’, भरत भारद्वाज, कृसु क्षेत्रीलगायतका गजल पनि यस कृतिमा समाविष्ट छन् ।
४७ पेज लामो सम्पादकीय भूमिका’मा सम्पादक क्षेत्रीले गजलको सैद्धान्तिक चर्चा, नेपाली गजललेखनको कालविभाजन र समसामयिक गजललेखनको विश्लेषण गरेका छन् ।
सम्पादकीय भूमिका पढ्दा, यदि त्यो दुबसु क्षेत्री आफैले लेखेका हुन् भने, त्यस समयमै अर्थात् नेपाली गजलको विकासकाल भर्खर सुरु भएको अवस्थामा जतिबेला सीमित व्यक्ति मात्र गजलको सैद्धान्तिक चर्चामा लागेका र सैद्धान्तिकता बारे खोजी हुन थालेको सन्दर्भमा त्यति स्पष्ट र प्रभावकारी सैद्धान्तिक लेख कमै मात्र पाइन्छ । यद्यपि, यस पुस्तकमा सङ्गृहीत रचनाहरू पढ्दा भने उक्त सम्पादकीय भूमिकामा उल्लेख भएको कुराको विपरीत पाइन्छ । सम्पादकीयमा सम्पादक क्षेत्री लेख्छन्, रदिफविहीन गजल पनि लेखिएका छन् तर काफियाविहीन गजलले अस्तित्व पाउादैन । काफियामा स्वरको साम्यतालाई पनि महत्त्व प्रदान गरिन्छ । स्वरमा एकरूपता नभएको काफियालाई त्रुटिपूर्ण मानिन्छ ।’ -पृ. १३२)
यसरी नै गजल गेय विधा भएको कारण यसमा पर्याप्त साङ्गीतिकता हुनुपर्ने उल्लेख गरेका छन् क्षेत्रीले । लयात्मकता, सङ्गीतात्मकता र गेयतालाई गजलका आधारभूत तत्त्व भन्दै लेखिएको छ, ँमात्रात्मक एकरूपता, ध्वनिको समानता र गतिमयताले गजललाई विशष्टि बनाउन मद्दत गर्छ ।… लयात्मकताविहीन गजललाई आज पनि असहज गजलका रूपमा लिने गरिन्छ ।’ -पृ. १३३)
यस पुस्तकमा सङ्गृहीत धेरै सिर्जनामा काफिया पाइदैन भने कतिपयमा काफियादोष देखिन्छ । यस सङ्ग्रहमा रहेका बर्तमानका केही प्रतिष्ठित गजलकार तथा गजलसमीक्षकका सिर्जना पनि गजल बन्न सकेका छैनन् । यी गजल न त गजलको संरचनामा रहेका छन् न त यी गजलमा लयको उचित निर्वाह नै भएको छ ।
मेरो मात्रै त हैन कथा यो तिम्रो पनि कथा त उही हो
किन भन्छ्यौ मलाई नरोक तिम्रो पनि व्यथा त उही हो ।
तिमी लुक्थ्यौ म खोज्थे घुमेर फूलैफूलको त्यो वसन्तभित्र
तिमी टाढा छ्यौ छैन वसन्त तर मनको मिलन त उही हो ।
कृष्णहरि बराल, समसामयिक नेपाली गजल, पृ. १०
उल्लिखित गजलको पहिलो सेर -मतला) मा काफियाको रूपमा कथा’ र व्यथा’ शब्द आएका छन् भने त उही हो’ शब्द रदिफका रूपमा आएको छ । तर दोस्रो सेरमा आएर काफिया लोप भएको छ । रदिफ त उही हो’ भन्दा अगाडि कथा र व्यथासाग समान स्वरयुक्त शब्द आउनुपर्नेमा मिलन’ आएको छ, जुन काफिया हुनै सक्दैन । चार सेरको यस गजलमा तेस्रो सेरमा जलन’ र चौथो सेरमा चलन’ शब्द काफियाको स्थानमा प्रयोग गरिएको छ । यस्तै यसमा लयको पनि एकरूपता छैन । कुनै पङ्क्ति २० अक्षरका छन् भने कुनै २२/२३ अक्षरका रहेका छन् साथै यति र गतिको पनि निर्वाह भएको देखिदैन । यसर्थ यो सिर्जनालाई गजल मान्न सकिदैन ।
अर्का प्रसिद्ध गजलकार तथा गजलसमीक्षक घनश्याम न्यौपाने परिश्रमीको यस सिर्जनामा पनि यही स्थिति देखिन्छ ।
यथार्थ कति तीतो हुदो रै’छ आजभोलि
अपाहिजको बैसाखी लुटिदो रै’छ आजभोलि ।
लोभ, मोह, मात्सर्यले विघटित मानवता
नग्नताले मात्र दिल छुदो रै’छ आजभोलि । तेस्रो सेर
पृ. २५
यस सिर्जनामा पनि गजलका लागि अतिआवश्यक तत्त्व काफिया र लय पाइदैन । पहिलो सेरमा रै’छ आजभोलि’ पदावली रदिफको रूपमा आएको छ भने हुदो’ र लुटिदो’ शब्द काफियाका रूपमा आएका छन् । यसै गरी तेस्रो सेरमा छुदो’ शब्द काफियाको रूपमा आएको छ । काफिया गजलको अनिवार्य तत्त्व हो, यसको उपस्थितिबिना कुनै पनि सिर्जना गजल बन्न सक्दैन । तर यस सिर्जनामा काफिया छैन । हुदो शब्दसाग लुटिदो र छुदो शब्द काफिया बन्न सक्दैनन् । यसै गरी यस सिर्जनामा गजलको लागि अर्को अनिवार्य तत्त्व लयको पनि उचित निर्वाह भएको छैन । मतलाको मिसरा ए उलामा १५ अक्षर रहेका छन् भने मिसरा ए सानीमा १७ अक्षर रहेका छन् । उल्लिखित अर्को सेरका दुवै पङ्क्तिमा १६ अक्षर रहेका छन् । यसकारण यो सिर्जना गजल बन्न सक्दैन ।
यी केही उदाहरण मात्र हुन् । यस सङ्ग्रहमा यस्ता धेरै सिर्जना पाइन्छ । अधिकांश सिर्जनामा रदिफको मात्र प्रयोग गरिएको छ । सायद नेपाली गजलका अग्रणि गजलकार मोतीराम भट्टको चर्चित सिर्जना यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्’ बाट प्रभावित र प्रशिक्षित भएर गजल लेख्न खोज्नाले धेरै जसो सर्जक झुक्किएका हुन सक्छन् । भट्टको उक्त सिर्जनालाई गजल भनिदै आएको छ । तर वास्तवमा भट्टको उक्त सिर्जनामा राम प्यारा छन्’ पदावली रदिफको रूपमा मात्र आएको छ । यसमा काफिया छैन । यही भएर हुन सक्छ प्रस्तुत सङ्ग्रहका अधिकांश सिर्जनामा रदिफ मात्र छ, काफिया छैन ।
कुनै सिर्जना गर्दा त्यस सिर्जनाबारे आधारभूत ज्ञान लिएर मात्र हात हाल्नु राम्रो हुन्छ । पहिलो कुरा त आफूले लेखेको सिर्जना गजल भयो कि भएन ? गजलका लागि आवश्यक तत्त्वको उचित निर्वाह भयो कि भएन ? भन्ने कुरामा सर्जक स्वयम् सचेत हुनुपर्दछ । साथै यो पुस्तक सम्पादित संयुक्त सङ्ग्रह पनि भएको कारण यस्तो कमजोरीमा सम्पादकको पनि महत्त्वपूर्ण हात रहन्छ । गजल स्वाभावैले साहित्यका अन्य विधा भन्दा जटिल, प्राविधिक विधा हो । गजलको संरचना, प्रविधिको बारेमा पर्याप्त ज्ञान नभई कुनै सिर्जना गजल हो कि होइन भनेर छुट्याउन सकिन्न । सङ्ग्रहमा सङ्कलित सिर्जनाको विश्लेषण गर्दा यो पुस्तकका सम्पादकमा पनि गजलसम्बन्धी ज्ञानको निकै कमी देखिन्छ । तर सम्पादकीय लेखमा भने सम्पादक गजलसिद्धान्तप्रति निकै जानकार देखिन्छन् । उनको सम्पादकीय लेख र सम्पादित रचनाबीच तादात्म्य नहुनुले सम्पादकीय सम्पादक स्वयम्ले बुझेर नभई कुनै लेख वा पुस्तकबाट साभार गरेर लेखेका भनेर सहज अनुमान लगाउन सकिन्छ । यो पुस्तक खासमा गजलसङ्ग्रह बन्न सकेको छैन । आधा भन्दा बढी सिर्जना गजल बनेका छैनन् । यसमा संरचनाबद्ध गजल कम मात्र पाइन्छ ।
पुस्तकमा सङ्गृहीत अधिकांश गजल समसामयिक पीडा, देशको दशा, मानिसको चरित्र, नेतृत्वको प्रवृत्तिमाथि केन्दि्रत छन् । यसमा सङ्कलित केही शृङ्गारिक गजलहरूमा भने आसक्त शृङ्गार प्रस्तुत गरिएको पनि पाइन्छ ।
नेपाली गजललेखन र गजल वा गजलसम्बन्धी पुस्तक प्रकाशनको लहर चलेको बेलामा गजलको प्रतिनिधि सङ्ग्रह निकाल्ने लहड जाग्नु स्वाभाविक हो । सम्पादक दुबसु क्षेत्रीले यो धर्मको निर्वाह गरेका छन् । कम्तीमा यस सङ्ग्रहले तत् समयको नेपाली गजललेखन कति निरीह र कमजोर थियो भन्ने बुझ्न मद्दत गर्ने छ ।
प्रतिनिधि नेपाली गजल
वियोगी बुढाथोकी र कृसु क्षेत्रीको सम्पादनमा बसुन्धरा प्रकाशनले प्रकाशन गरेको प्रतिनिधि नेपाली गजल’, २०५७ मा तत् समयका १०९ गजलकारका ११० ओटा गजल समेटिएका छन् । १०९ जनाका एकएकओटा र एउटा संयुक्त गजल यस कृतिमा पाइन्छ ।
कृष्णहरि बरालको लामो समालोचकीय भूमिका रहेको यस कृतिमा सङ्गृहीत झन्डै आधाजसो शृङ्गारिक गजल पाइन्छ भने अन्य समसामयिक विषयमा केन्दि्रत छन् । समाजका विकृति, विसङ्गति, विकृत राजनीति, पीडक संस्कृति, अमानवीयता जस्ता कुरालाई विषयवस्तु बनाएर लेखिएका गजल यसमा पढ्न पाइन्छ । यस पुस्तकमा सङ्गृहीत केही शृङ्गारिक गजल अलिक उत्तेजक, अश्लील र कामुक रहेका देखिन्छ । साहित्यमा यस्तो प्रस्तुतिलाई सहज र स्वाभाविक मानिदैन । यस्ता केही सेर द्रष्टव्य छन् ः
हुन त तिमीसाग केवल एक रात मागेको हु
एकै रातमा जिन्दगीभरको साथ मागेको हु ।
धेरै पिइयो नशा तिम्रो अनुपस्थितिमा
समीप हुदा तिम्रो यौवनको मात मागेको हु ।
कृसु क्षेत्री, पृ. ५
ढुङ्गा भए, मुर्ति भए बिना तिम्रो बात हजुर
साह्रै गाह्रो दुख्दो रै’छ बिना तिम्रो रात हजुर ।
दीपक लोहनी, पृ. १५
अनुपमा सायद दुई जिउकी भएकी होलिन्
बुबा, मुमालाई हाम्रो सम्बन्ध नलुकाउनू भनिदिनू ।
राजेश्वर रेग्मी, पृ. ३९
यस पुस्तकमा सङ्गृहीत धेरै गजलमा गजलको सैद्धान्तिक पक्षको पालना गरिएको पाइादैन । यसमा सङ्कलित गजलहरू विश्लेषण गर्दा तत् समयका सर्जकहरूमा गजलप्रतिको ज्ञान अत्यन्तै कमजोर देखिन्छ । गजलका आवश्यक तत्त्वहरू काफिया, लय, भावको उचित संयोजन गर्न अत्यन्तै थोरै सर्जकले मात्र सकेका छन् । यस पुस्तकलाई पनि अघिल्लो समसामयिक नेपाली गजल’कै दोस्रो भागको रूपमा मात्र लिन सकिन्छ, कारण, यसमा कुनै नौलो विषय र पहिलेको भन्दा सुधार पाइदैन ।
यति हुदाहुदै पनि यतिका स्रष्टाहरू समेटेर पुस्तक प्रकाशन गर्ने सम्पादकद्वयको जोस र जागरलाई चाहि मान्नै पर्छ ।
झिल्लिका
झिल्लिका साहित्यिक परिवार, दमक, झापाद्वारा प्रकाशित एवम् डिकेश लामाद्वारा सम्पादित संयुक्त गजलसङ्ग्रह झिल्लिका साहित्यिक पत्रिकाको २०६२ असोज-कार्तिक अङ्कलाई नेपाली समसामयिक गजल विशेषाङ्कको रूपमा प्रकाशन गरिएको छ ।
यस सङ्ग्रहमा पुनर्जागरणपछिका ज्ञानुवाकर पौडेलदेखि यताका १९३ जना नेपाली गजलकारका एक/एकओटा गजलहरू सङ्गृहीत छन् । यस सङ्ग्रहमा डा. घनश्याम परिश्रमी’को गजल र बहरका विषयमा लामो सैद्धान्तिक लेख, गजलकार मनु ब्राजाकीसागको गजलका विषयमा गरिएको अन्तर्वार्ता, विभिन्न गजलमर्मज्ञ एवम् गजलकारका गजलप्रतिका धारणा, गजलका विभिन्न विषयमा विभिन्न व्यक्तिका लेख रचनाहरू समेटिएका छन् । झिल्लिका साहित्यिक पत्रिका भएको कारण यस पुस्तकमा विज्ञापनको मात्रा पनि उल्लेख्य पाइन्छ ।
झिल्लिका गजल विशेषाङ्कमा सङ्कलित गजलहरूमा पनि परम्परागत शैली र प्रस्तुतिकै बाहुल्य रहेको पाइन्छ । यसमा सङ्कलित प्रायः सबै गजलहरू गैरबहर अर्थात् मुक्त लयमा रचना गरिएका छन् । विषयवस्तुगत हिसाबमा पनि यसमा सङ्गृहीत गजलहरू मानिसका आशा, निराशा, विकृत राजनीतिप्रति व्यङ्ग्य, सामाजिक, सांस्कृतिक परिवर्तनको चाहना, प्रेम, प्रणयका भावहरू अभिव्यक्त भएका पाइन्छ ।
जे भए पनि झिल्लिका गजल विशेषाङ्कले नेपाली गजलपरम्परामा देखिएको सामूहिक वा संयुक्त गजलसङ्ग्रह प्रकाशनको परम्परालाई निरन्तरता दिएको छ एकातिर भने समकालीन गजलकार र तिनको गजलकारितालाई बुझ्न र विश्लेषण गर्न पनि सहयोग गरेको छ ।
गजलयात्रा
हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनद्वारा प्रकाशित तथा पुष्प अधिकारी अन्जलि’द्वारा सम्पादित संयुक्त गजलसङ्ग्रह गजलयात्रा- २, २०६५ नेपाली गजलसाहित्यमा महत्त्वपूर्ण प्राप्ति हो । यस पुस्तकमा १९४ जना समकालीन गजलकारका गजलहरू सङ्गृहीत छन् ।
अघिल्ला संयुक्त गजलसङ्ग्रहमा झैा यसमा पनि परम्पराको निर्वाह गरिएको छ । यसमा सङ्कलित गजलका विषयवस्तु र प्रस्तुति पनि परम्परागत नै देखिन्छ । केही गजलहरूमा लयभङ्गको स्थिति देखिन्छ भने केहीमा व्यङ्ग्यका नाममा नारा र शृङ्गारिकताका नाममा अशिष्ट वा उत्तेजक प्रस्तुति पनि पाइन्छ । सम्पादकलाई यसको जिम्मेवार ठान्ने हाम्रो चलन छ, तर आफ्नो कमजोरीको दोष अरूलाई थुपार्नुभन्दा सर्जक आफैाले स्तरीय रचना लेख्नु बुद्धिमानी हुन्छ । त्यसो त सम्पादकको हातमा परिसकेपछि कस्ता सिर्जना समाजले पचाउछ, कस्ता पचाउादैन भन्ने हेक्का सम्पादकले पनि राख्नै पर्छ । साथै सम्पादकको काम भनेको रचना सङ्कलन गर्नु र छाप्नुमात्र पनि होइन, रचनामा भएका कमीकमजोरी हटाई स्तरीय र प्रकाशनयोग्य बनाउनु पनि हो । अनुत्कृष्ट वा अश्लील र उत्तेजक तथा संरचनाभङ्ग भएका रचनालाई गजलको कोटिमा राखेर प्रकाशन गर्नुले नेपाली गजलले खेप्दै आएका अनेकौा आरोपलाई पुष्टि गराउन थप बल प्रदान गर्दछ भन्ने कुरातर्फ सर्जक र सम्पादक होसियार हुनै पर्छ ।
गजलयात्राका सहयात्रीहरू
गजलयात्राका सहयात्रीहरू- १, २०६५ सालमा प्रकाशित संयुक्त गजलसङ्ग्रह हो । गजलयात्रा साथी समूह, पोखरा एफएमद्वारा प्रकाशित एवम् अनुराग अधिकारीद्वारा सम्पादित यस सङ्ग्रहमा १५३ जना नेपाली गजलकारका गजलहरू समेटिएको पाइन्छ ।
पाचै विकासक्षेत्रमा गजललेखनको बारेमा छुट्टाछुट्टै लेखहरू तथा डा. घनश्याम न्यौपाने परिश्रमी’सागको बहरकेन्दि्रत कुराकानी र सुरेश सुवेदीको गजलगायनसम्बन्धी लेख पनि यस सङ्ग्रहमा समेटिएको छ ।
संयुक्त राष्ट्रिय गजलसङ्ग्रह भनिएको यस पुस्तकमा सबै गजलकारहरू समेटिन नसके पनि डेढ सय गजलकारलाई समेट्नु उल्लेख्य काम नै मान्नुपर्छ । परम्पराको निरन्तरता नै भए पनि यस्ता कार्यहरूका कारण नेपाली गजल फेरि हिजो जस्तो चीरनिद्रामा पर्नुपर्ने अवस्था आउदैन । यो नेपाली गजलसाहित्यको लागि खुसीको कुरा हो ।
यस सङ्ग्रहमा सङ्कलित गजलका विषयवस्तुलाई हेर्दा परम्परालाई नै निरन्तरता दिइएको पाइन्छ भने लयमा भने केही सचेतता देखाइएको छ । बहर तथा गैरबहर दुवै लयमा लेखिएका गजलहरू यसमा सङ्गृहीत छन् ।
बहरमाला
अनाममण्डलीको संयोजनमा हजुरको प्रकाशन, काठमाडौद्वारा प्रकाशित बहरमाला बहरबद्ध गजलहरूको संयुक्त सङ्ग्रह हो । घनेन्द्र ओझा र सुरेश सुवेदीद्वारा सम्पादित वि. सं. २०६३ सालको मोतीजयन्तीमा प्रकाशन भएको यस सङ्ग्रहमा मोतीराम भट्टदेखि हालसम्मका १०१ गजलकारका विभिन्न बहरमा लेखिएका गजलहरू प्रकाशित छन् ।
नेपालको राजनीति वि. सं. २०६१ साल, अझ भनू राजदरबार हत्याकाण्ड -वि. सं. २०५८ जेठ १९) पछिको नेपाली राजनीति झनै अन्योल र अस्थिर बन्दै गयो । राजा ज्ञानेन्द्रको शासकीय महत्त्वाकाङ्क्षा तीब्र बन्नुको परिणाम देश झनै द्वन्द्वको चपेटामा पर्यो । यिनै सन्दर्भमा आधारित रहेर लेखिएका बहरबद्ध गजलहरू यस सङ्ग्रहमा समेटिएका छन् ।
यसो त गजलको शास्त्रीय मान्यताअनुसार शृङ्गारिक विषयवस्तुमा लेखिएका गजलहरू पनि यस सङ्ग्रहमा सङ्गृहीत छन् । यस सङ्ग्रहमा समेटिएका शृङ्गारिक गजलहरूमा संयोग तथा विप्रलम्भ दुवै शृङ्गारको प्रयोग गरिएको छ ।
बहरमाला पूर्णतः फारसी बहर तथा पिङ्गल छन्दमा लेखिएका गजलहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्र सङ्कलित गजलमा प्रचलित फारसी बहरहरू मुतकारिब, मुतदारिक, हजज र यसका विभिन्न भेद, रमल र यसका विभिन्न भेदको प्रयोग गरिएको छ भने जदिद, मुजारे, कामिल, मुज्तस, खफिफ, बसित, मुन्सरिअ, मुक्तजब, मुदिद, वाफिरजस्ता कम प्रचलित बहरको प्रयोगसमेत यसमा पाइन्छ ।
यसरी नै पिङ्गल छन्दहरू कुर्सी, शालिनी, विभूति, हारिणी, चम्पकमाला, विप्लवी, इन्दिरा, तोटक, द्रूतबिलम्बितमा लेखिएका गजल पनि यस सङ्ग्रहमा सङ्गृहीत छन् । गजलकारद्वारा निर्मित नवछन्दको प्रयोग पनि यसमा पाइन्छ । घनेन्द्र ओझाले आफ्नो बहरबद्ध गजलसङ्ग्रह बल्झेर याद तिम्रो’मा प्रयोग गरेको विभूति छन्दमा घनश्याम पथिक’ले लेखेको गजल यस सङ्ग्रहमा सङ्कलित छ भने सुमन राईले प्रयोग गरेको नवछन्द मोती, विभोर बरालले प्रयोग गरेको नवछन्द विप्लवी पनि यसमा पाइन्छ ।
देवी नेपालको भूमिका रहेको यस संयुक्त सङ्ग्रहमा नेपालले नेपाली गजललेखनमा विभिन्न छ प्रकारका लयको प्रयोग भइरहेको चर्चा गर्दै शास्त्रीय बहरका बारेमा वृहत चर्चा गरेका छन् ।
समग्रमा, बहरमाला सङ्गीत चन्द्रोदयपछिको पहिलो बहरबद्ध संयुक्त गजलसङ्ग्रह हो । यसले नेपाली गजललेखनमा बहरको पुनर्जागरण गराउन ठूलो मद्दत गरेको त छ नै बेछन्द वा बिना लयका गजल लेखिरहेका नेपाली गजलकारहरूलाई लयसचेत गराउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
गजलमाला
घनेन्द्र ओझा र घनश्याम पथिक’द्वारा सम्पादित तथा विपीन शर्मा र राधा कणेलद्वारा प्रकाशित गजलमाला, २०६६ पनि बहरमाला जस्तै बहरबद्ध गजलहरूको संयुक्त सङ्ग्रह हो । यसमा पाच दर्जन गजलकारका बहरमा लेखिएका गजलहरू सङ्कलित छन् ।
यस सङ्ग्रहमा पनि विभिन्न प्रचलित/अप्रचलित फारसी बहर तथा पिङ्गल छन्दको प्रयोग गरेर लेखिएका गजलहरू सङ्गृहीत छन् ।
समसामयिक राजनीतिक, सामाजिक, सांस्कृतिक बिचलनप्रतिको व्यङ्ग्य, क्रान्तिकारी चेतना, मानवीय मर्यादा र नैतिकतामा आएको ह्रासजस्ता विषयहरूलाई यस सङ्ग्रहका गजलले समेटेका पाइन्छ ।
यसरी नै यस सङ्ग्रहमा शृङ्गारिक भावभूमिमा रचना गरिएका गजलहरू पनि पढ्न पाइन्छ । शृङ्गारिकताका नाममा अश्लीलता वा नाङ्गो प्रस्तुति र व्यङ्ग्यका नाममा नारा यसमा समेटिएका गजलमा पाइदैन ।
बहरका सूत्रमा शब्द भरिएको मात्र नभई धेरैजसो गजल अर्थपूर्ण वा भावगत रूपले सबल पाइन्छ ।
यस सङ्ग्रहमा प्रचलित फारसी बहरहरू मुतकारिब, मुतदारिक, हजज र यसका विभिन्न भेद, रमल र यसका विभिन्न भेदको प्रयोग गरिएको छ भने जदिद, मुजारे, कामिल, मुज्तस, रजज, खफिफ, बसित, मुन्सरिअ, मुक्तजब, मुदिद, करिब, तबिल, वाफिरजस्ता बहरको प्रयोगसमेत यसमा पाइन्छ ।
यसरी नै पिङ्गल छन्दहरू कुर्सी, संयुता, शालिनी, इन्द्रबज्रा, मालिनी, हारिणी, वंशस्थ, उपजाति, मालिका, चम्पकमाला, इन्दिरा, तोटक, द्रूता, द्रूतबिलम्बितमा लेखिएका गजल पनि यस सङ्ग्रहमा सङ्गृहीत छन् । यस सङ्ग्रहमा कवितामा मात्र प्रयोग हुदै आएका लामा छन्दहरू मन्दाक्रान्ता तथा शार्दूलबिक्रीडित जस्ता छन्दको प्रयोग पनि पाइन्छ ।
प्रतिनिधि नेपाली गजलहरू
ललिजन रावलको सम्पादनमा विवेक सिर्जनशील प्रकाशन, काठमाडौाद्वारा प्रकाशित प्रतिनिधि नेपाली गजलहरू, २०६५ पनि नेपाली गजलको इतिहासमा महत्त्व राख्ने सङ्ग्रह हो । २०० जना नेपाली गजलकारका दुई/दुईओटा गजलहरू समेटिएको यस सङ्ग्रहमा शास्त्रीय बहर तथा गैरबहर -मुक्तलय) मा लेखिएका गजलहरू समावेश छन् । यस सङ्ग्रहमा पुनर्जागरणपछिका ज्ञानुवाकर पौडेलदेखि यताका नवसर्जकसम्मका गजलहरू रहेका छन् । तर यस सङ्ग्रहमा पुनर्जागरणपहिलेका गजलकारका गजलहरू नसमेटिएकोले गर्दा यो सङ्ग्रह समकालीन गजलहरूको सङ्ग्रह मात्र हो भन्न सकिन्छ ।
यस सङ्ग्रहमा सङ्कलित गजलहरूमा मुतकारिब, मुजारे, रमल र यसका केही भेद, खफिफ, हजज र यसका केही भेदलगायतका बहरमा लेखिएका गजल पढ्न पाइन्छ । यसरी नै केही गजलकारले शालिनी, चम्पकमाला, विप्लवी, कुर्सी, विभूति, पञ्चचामरजस्ता पिङ्गल छन्दको पनि प्रयोग गरेका छन् ।
विषयवस्तुका आधारमा विश्लेषण गर्दा यस सङ्ग्रहमा सङ्कलित गजलहरूमा समसामयिक राजनीति र सामाजिक अव्यवस्थाप्रति तीब्र व्यङ्ग्य गरिएको छ । शृङ्गारिक गजलहरू पनि यस सङ्ग्रहमा पढ्न पाइन्छ । प्रेमीप्रेमिकाबीचका विभिन्न भाव, घुक्र्याइ, तनाव आदि यहा सङ्कलित गजलका विषय बनेका छन् ।
नेपाली गजलमा सामूहिक वा संयुक्त सङ्ग्रह प्रकाशन गर्ने क्रम बढिरहेको सन्दर्भमा ललिजन रावलद्वारा सम्पादित प्रतिनिधि नेपाली गजलहरू’ नेपाली गजलको परम्परालाई बुझ्न एउटा राम्रो सन्दर्भसामग्री बन्ने कुरामा दुई मत हुादैन ।
नेपाली गजलमा नारी हस्ताक्षर
रमेश शुभेच्छुद्वारा सम्पादित एवम् पुष्पलता आचार्यद्वारा प्रकाशित नेपाली गजलमा नारी हस्ताक्षर’, २०६२ नेपाली गजललेखनमा सक्रिय नारी गजलकारका गजलहरूको संयुक्त सङ्ग्रह हो । जम्मा १०१ नारी गजलकारका पाच/पाचओटा गजल समेटिएको यस पुस्तकमा समेटिएका हरेक नारी गजलकारको छोटो परिचय पनि दिइएको छ ।
यस सङ्ग्रहमा सङ्गृहीत गजलहरू हेर्दा नेपाली गजलपरम्परामा रहेको नारी गजलकारको पातलो उपस्थितिप्रति चिन्ता गर्नुपर्ने अवस्था देखिदैन । यसमा मात्र १०१ जना नारी गजलकार समेटिएका छन् । तर नेपाली गजललेखनमा सक्रिय नारी गजलकारको सङ्ख्या यसको धेरै गुना बढी रहेको देखिन्छ, पत्रपत्रिका पढ्दा, रेडियो सुन्दा र साहित्यिक कार्यक्रमहरूमा उनीहरूको उपस्थितिलाई हेर्दा । साथै स्रष्टा चयनको आधार पनि स्पष्ट उल्लेख भएको पाइदैन । यसकारण यो गजलसङ्ग्रह केही नारी गजलकारहरूलाई समेटिएको गजलसङ्ग्रह मात्र मान्न सकिन्छ ।
यस सङ्ग्रहभित्र समेटिएका गजलहरूमा महिलाका पीडा, दुःख र वेदना प्रमुख रूपमा मुखरित भएका पाइन्छ भने सामाजिक, राजनीतिक विकृतिप्रतिको असहमति, विद्रोह पनि यस कृतिमा सङ्कलित गजलका विषयवस्तु बनेका पाइन्छ । यसरी नै प्रेमप्रणयका विषयमा पनि नारी गजलकारले कलम चलाएका देखिन्छ ।
काठमाडौ गजलसङ्ग्रह
गोपीकृष्ण ढुङ्गाना पथिक’ र गङ्गाप्रसाद भेटवालको सम्पादनमा वि. सं. २०६१ मा गङ्गा साहित्यिक प्रकाशनद्वारा प्रकाशित संयुक्त गजलसङ्ग्रह काठमाडौ गजलसङ्ग्रह’ पनि नेपाली गजलको विकासमा सहयोगी पुस्तक हो । यस सङ्ग्रहमा ७६ जना गजलकारका एक/एकओटा गजल समेटिएका छन् । समसामयिक राजनीतिक, सामाजिक, सांस्कृतिक विषयलाई यसमा सङ्गृहीत गजलका विषय बनाइएको छ । यसरी नै शृङ्गारिक विषयमा लेखिएका गजल पनि यसमा सङ्गृहीत छन् ।
यस कृतिमा ५० को दशकको आसपास र त्यसपछि गजललेखनमा सक्रिय स्रष्टाहरूका गजल मात्र सङ्कलित छन् । पुराना, गजलको विकासमा महत्त्वपूर्ण योगदान दिएका गजलस्रष्टाका गजल यसमा नसमेटिनुले केही खल्लो अवश्य बनाएको छ तथापि छ दर्जनबढी गजलस्रष्टाका गजल समेटिएको यस कृतिले नेपाली गजलसाहित्यलाई थोरै भए पनि त्राण दिएको छ भन्न सकिन्छ ।
